Tuesday, April 10, 2018

डेब्युको प्रतीक्षामा सम्भावित Star


इन्डियन प्रिमियर लिग (आईपीएल) स्थापनाका धेरै कारणमध्ये एउटा कारण थियो, भारतमा अब्बल दर्जाको क्रिकेट खेलाडीको खोजी । पछि आईपीएलको महत्त्वकांक्षा बढ्दै गयो र उसले आफूलाई विश्वकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिताको रूप दिन चाह्यो । त्यसका लागि विदेशी खेलाडी चाहियो नै, त्यतिले नपुगेर उसले गैरटेस्ट देशहरूतर्फ पनि आँखा लगाउन थाल्यो । यसको स्पष्ट कारण हो, प्रतियोगितालाई साँच्चिकै ‘ग्लोबल’ बनाउने । यी सबै कारणको पृष्ठभूमिमा यी पाँच खेलाडीले प्रतियोगितामा डेब्यु गर्दा सबैको नजर उनीहरूमाथि नै हुनेछ । 
सन्दीप लामिछाने
नेपाली लेग स्पिनर सन्दीप लामिछानेका लागि आईपीएलमा खेल्न पाउनु साँच्चिकै ठूलो अवसर हो । अझ भन्नुपर्दा उनको प्रदर्शनले धेरै हदसम्म नेपाली क्रिकेटको भविष्यसमेत निर्धारण गर्नेछ । सन्दीपलाई किनेर दिल्ली डेयरडेभिल्स पनि कम फाइदामा छैन । अहिले सन्दीपसँगै दिल्ली टिम पनि चर्चामा छ । एक प्रकारले सन्दीपलाई अनुबन्ध गरेर दिल्लीले आफ्ना प्रशंसकको संख्या बढाएको छ र यो भारतीय राजधानीको सीमा तोडेर भौगोलिक रूपमा अर्को देशसम्म पनि पुगेको छ । यता नेपाली क्रिकेट प्रशंसकहरू भने त्यो दिनको व्यग्र प्रतीक्षामा छन्, जति बेला सन्दीपले आईपीएलमा पहिलो खेल खेल्नेछन् । 
मुजिब अर रहमान
अफगानी क्रिकेटका सनसनी मुजिब अर रहमान पनि यसपटकको संस्करणसँगै आईपीएलमा डेब्यु गर्दैछन् । रहमान अफगान क्रिकेटका ठूला स्टार हुन् । उनले आफ्नो स्पिन बलिङ आक्रमणका कारण सबैको मन जितेका छन् र यसै क्रममा उनी किङ्स इलेभेन पञ्जावको पनि मन जित्न सफल भए । टिमका बलिङ प्रशिक्षक बेंकटेस प्रसादले उनलाई टिमकै प्रमुख बलर बनाउने योजना बनाइरहेका छन्, यसबाट पनि प्रस्ट हुन्छ, उनी कत्तिको स्तरीय बलर हुन् ? पञ्जाबले उनलाई ४ करोड भारतीय रुपैयाँ तिर्न दुई पटक सोचेन । भर्खर १६ वर्ष पुगेका रहमानले अफगान यू–१९ बाट प्रसिद्ध कमाउन थालेका हुन् । 
पृथ्वी शा
दिल्ली डेयरडेभिल्समा सन्दीप लामिछानेका साथी खेलाडी हुनेछन्— पृथ्वी शा । पृथ्वी भारतीय यू–१९ टिमका कप्तान हुन् र उनकै नेतृत्वमा त हो, भारतले हालै मात्र युवा विश्वकप जितेको । पृथ्वीलाई भारतीय क्रिकेटको भविष्यका सबैभन्दा ठूलो स्टारका रूपमा हेरिएको छ । त्यसैले यसपटकको आईपीएल खेलाडी लिलामीमा उनले राम्रै मूल्य पाए । सुरुमा उनलाई मुम्बई इन्डियन्स र किङ्स इलेभेन पञ्जाबले किन्न खोजे पनि उनी भए— दिल्लीका खेलाडी । त्यसका लागि दिल्लीले उनलाई १ करोड २० लाख भारतीय रुपैयाँ तिर्‍यो । मुम्बई, थानेका यी खेलाडीले प्रथम श्रेणीको क्रिकेटमा पाँच शतक प्रहार गरिसकेका छन् । 
जोफ्रा आर्चर
बारबाडोजमा जन्मिएर पनि वेस्ट इन्डिजका लागि होइन, इंग्ल्यान्डका लागि खेल्न आतुर छन्, जोफ्रा आर्चर । मूलत: बलर आर्चर गज्जबका ट्वान्टी–२० खेलाडी हुन् । अहिले वेस्ट इन्डिज क्रिकेटले टेस्ट र वान डे दुवैमा राम्रो गर्न सकिरहेको छैन, तर यही तथ्य ट्वान्टी–२० मा भने लागू हुँदैन । अस्ट्ेरलिया, बंगलादेश र पाकिस्तानमा ट्वान्टी–२० क्रिकेट खेलेयता आर्चर अब आईपीएलमा डेब्यु गर्ने क्रममा छन् र उनलाई राजस्थान रोयल्सले अविश्वसनीय रूपमा ७ करोड २० लाख भारतीय रुपैयाँमा किनेको छ । आर्चरको एउटा ठूलो विशेषता हो— स्तरीय फिल्डिङ । 






No comments:

Post a Comment